जेरी अन टपमा माग्ने बुढा

काठमाडौं । अनन्या फिल्मस् को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘जेरी अन टप’मा कलाकार केदार घिमिरे अनुबन्ध भएका छन् । शुक्रबार निर्माता सरोज न्यौपानेले घिमिरेसँग व्यवसायिक सम्झौता गरेका हुन् । स्टार अभिनेता अनमोल केसीसँग घिमिरेको यो पहिलो सहकार्य हुनेछ ।

एकाध फिल्म बाहेक ठुलोपर्दामा नदेखिने ‘माग्ने बुढा’ले परिचित घिमिरेले यो फिल्मको स्कृप्टमा काम गर्न तयार हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेपाली मनोरञ्जन क्षेत्रमा सानो र ठुलोपर्दामा सर्वाधिक लोकप्रिय कलाकारको रूपमा स्थापित घिमिरेलाई अनुबन्ध गर्न पाउनु आफैंमा गर्वको कुरा रहेको निर्माता न्यौपानेले बताएका छन् ।

सामाजिक सञ्जालमा आधिकारिकता पोस्ट गर्दै निर्माता न्यौपानेले लेखेका छन्, ‘एकाध फिल्मबाहेक बिग स्कृनमा बिरलै देखिने ‘हाँस्य रस’का पर्यायवाची अद्भुत कलाकार ‘केदार जी’लाई हाम्रो टिममा स्वागत छ।’

सुयोग गुरुङको निर्देशनमा बन्न लागेको यो फिल्म यसै साताबाट फ्लोरमा जाँदैछ । यो फिल्मको प्रमुख कलाकारमा स्टार अभिनेता अनमोल केसीसँगै अभिनेत्रीत्रय आँचल शर्मा, जसिता गुरुङ र सुरक्षा पन्त यसअघि नै अनुबन्ध भइसकेका छन् ।

फिल्मको निर्माणमा सरोज न्यौपानेलाई दीपक भण्डारी, रविन शेरचन र रामकृष्ण श्रेष्ठले सघाएका छन् । यसको एसोसिएट निर्माता ओम अग्रवाल र विवेक थापा हुन् । यो फिल्मको प्रदर्शन अधिकार उपत्यकामा करण क्रेजीको रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनिले लिएको छ ।