चैत १ मा राजागञ्ज

काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज’ आगामी चैत १ गतेबाट नेपालमा प्रदर्शन हुने भएको छ । विभिन्न विश्वप्रसिद्ध फिल्म महोत्सवमा ‘पूजा, सर’ नाममा प्रदर्शन भएको फिल्म नेपालमा भने ‘राजागंज’ नामबाट रिलिज हुनेछ ।

मंगलबार फिल्मको निर्माण टिमले एक प्रेस विज्ञप्ती जारी गर्दै फिल्मलाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका हुन् ।

निर्देशक रौनियार निर्देशित फिल्म ‘हाइवे’ पहिलो पटक बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा २०१२ मा प्रदर्शन भएको थियो । त्यसपछि उनले निर्देशन गरेको दोस्रो फिचर फिल्म ‘ह्वाइट सन’ पनि विभिन्न विश्वप्रसिद्ध फिल्म महोत्सवमा पुगेको थियो ।

फिल्म ‘राजागंज’को कार्यकारी निर्मातामा बलिउड निर्देशक अनुराग कश्यप छन् । सोसल ड्रामा तथा एक्सन फिल्ममा आशा मगराती मुख्य भूमिका छिन् । फिल्ममाआशाका अलवा पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय रहेको छ ।

सत्य घटनाबाट प्रेरित रहेको ‘राजागञ्ज’ स्वीट्जरल्यान्ड, जर्मनी, अस्ट्रिया यूके र आयरल्यान्ड जस्ता देशमा पनि बिक्री भइसकेको जनाइएको छ । फिल्मले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको छ ।

फिल्मको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।