काठमाडौं । यही कार्तिक ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’ जापानका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ । फिल्म टोकियो,नारिता,नागोया, फुकुओका,ओशाका, कोबे, क्योतो, सिजुओका, निगाता, ओकिनावाकालगायत जापानका विभिन्न चौधवटा शहरमा ‘ह्रस्व दीर्घ’ सोल्ड आउट भएको छ ।
नेपाल र इन्डियाका कलाकारको अभिनयका कारण राम्रो हाइप बनाइरहेको फिल्मले जापानमा राम्रो शो पाएको हो । ‘ह्रस्व दीर्घ’ चन्द्र पन्तले निर्देशन गरेका छन् । ‘ह्रस्व दीर्घ’मा दक्षिण भारतीयदेखि नेपालका धेरै स्थापित कलाकारले काम गरेका छन् । दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, सुनील वर्माले अभिनय गरेका छन् ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।
यसअघि केही भोजपुरी फिल्मको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली फिल्ममा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली फिल्म हो ।
अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो फिल्म नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।