काठमाडौं । कार्तिक ३० गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’को दोस्रो गीत ‘भगवान नै आमा हुन्’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा आमाको महिमा वर्णन गरिएको छ ।
गीतमा सत्यराज आचार्यको गायन तथा बाबुल गिरीको शब्द र संगीत छ । सन्तानका लागि एक आमाले गर्ने संघर्ष, त्याग र समर्पणको भाव गीतमा प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा अभिनेत्री विपना थापालाई आमाको रुपमा चित्रित गरिएको छ । एक समयकी सफल अभिनेत्री विपनाले ‘ह्रस्व दीर्घ’बाट १३ वर्षपछि नेपाली रजतपटमा कमब्याक गरेकी हुन् ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्म बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।
फिल्ममा चन्द्र पन्तको निर्देशन छ । यसअघि केही भोजपुरी फिल्मको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली फिल्ममा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली फिल्म हो ।
अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो फिल्म नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।