काठमाडौं । अभिनेत्री नीता ढुंगानको निर्माण रहेको फिल्म ‘ह्रस्व दीर्घ’ शुक्रबारबाट देशभर प्रदर्शनरत छ । फिल्मले शुक्रबार र शनिबार आक्रामक व्यापार गरेको छ ।
फिल्मका वितरक मनोज राठीले शुक्रबारका बिहानी शोबाट नै उत्साहजनक व्यापारको सुरुवात गरेको फिल्मको रफ्तार शनिबार दिनभर पनि उस्तै रहेको बताए । पर्याप्त शो नहुँदा धेरै दर्शकहरु टिकट नपाएर फर्केको उनको दाबी छ । यता अभिनेत्री नीता ढुंगानाले समेत फिल्मले आक्रामक व्यापार गर्दा पनि शनिबार शो नथपिएको गुनासो गरेकी छन् ।
शनिबार पनि काठमाडौं उपत्यकाका क्युएफएक्स विभिन्न हल, बिग मुभिज, वान सिनेमाज, एफक्युब सिनेमाज लगायतका हलमा दर्शकप्रतिक्रिया बुझ्न फिल्मको निर्माण टिम पुगेको थियो । सिनेमाको टिम हल पुग्दा दर्शकले ताली र सिटीले स्वागत गर्दै ह्रस्व दीर्घको दोस्रो भागको माग गरिरहेका थिए ।
लेखक तथा अभिनेता हरिहर अधिकारीले फिल्मले काठमाडौं उपत्यकामा मात्रै नभई, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, विराटनगर, इटहरी, धरान, दमक बिर्तामोड र धनगढी लगमायतमा सहरमा आक्रामक व्यापार गरेको बताए । फिल्मले उत्कृष्ट व्यापार गरेसँगै बलिउड अभिनेता तथा गजनी भिलेन प्रदीप रावत समेत आइतबार ह्रस्व दीर्घ हेर्न र दर्शक साक्षात्कार गर्न नेपाल आउँदैछन् ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्म बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।
फिल्ममा चन्द्र पन्तको निर्देशन छ । फिल्म नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज भएको छ । फिल्म मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गरेको छ ।