काठमाडौं । निर्देशक सौरभ चौधरीको निर्देशन रहने फिल्म ‘कर्मा’मा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन् । यसअघि यो फिल्ममा विपिन कार्की अनुबन्धित भइसकेका छन् ।
फिल्ममा उपासना अभिनेता विपिन कार्कीको जोडीको रुपमा देखिने छिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिनेछन् । विपिन र उपासनाले पहिलो पटक फिल्ममा सहकार्य गर्न लागेका हुन् । मुकुनले अभिनय गरेको फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ अहिले थिएटरमा कीर्तिमानी व्यापार गरिरहेको छ ।
निर्देशक चौधरीले यसअघि ‘अगस्त्यः च्याप्टर १’को निर्देशन गरेका थिए । एक्सन ड्रामा जनरामा निर्माण हुने यस ‘कर्मा’को कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।
निर्देशक चौधरीका अनुसार फिल्ममा अभिनेता विपिनलाई पहिलोपटक एक्सन अवतारमा देख्न पाइनेछ । विपिनले ‘कर्मा’का लागि ८ केजी तौल समेत बढाएका छन् ।
मंसिरको दोस्रो सातापछि छायांकनमा जान लागेको ‘कर्मा’लाई नयाँ वर्षको छेको पारेर आगामी चैत्रको २९ गते रिलिज हुनेछ । फिल्मको छायांकन दाङ र रुकुममा गरिनेछ । फिल्मको इन्टरनेशनल राइट्स सेभेन सिज इन्टरटेन्मेन्टले खरिद गरिसकेको छ ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालको लगानी रहनेछ ।