प्रकाशका अग्निदहन कुरा

काठमाडौं । कलाकार प्रकाश घिमिरे नाटक र फिल्म क्षेत्रका लागि चिनाइरहनुपर्ने नाम होइन । दर्जनौं फिल्ममा अभिनय गरिसकेका प्रकाश यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘अग्निदहन’मार्फत दर्शकमाझ आउँदैछन् ।

प्रकाशका अनुसार उनी ‘घामपानी’को सुटिङ गरेर फर्किएपछि ‘अग्निदहन’मा जोडिएका हुन् । ‘सुटिङ सकेर फर्किएपछि निर्देशक घनश्याम लामिछानेजीले फोन गर्नुभयो । उहाँले हामी फिल्म बनाउँदैछौं, काम गर्नुपर्यो भन्नुभयो । म शिक्षक पनि भएकाले पढाउने काम पनि गर्नुपर्ने र सुटिङले गर्दा पढाउन नपाएको भनेर केही विचार गरौंला भनें’, उनले भने, ‘पछि माओत्से गुरुङले पनि फोन गर्नुभयो । सामाजिक विषयमा फिल्म बन्दैछ भनेपछि म काम गर्न सहमत भएँ । म आफैं पनि सामाजिक काममा चासो राख्ने भएकाले काम गर्न मन लाग्यो । पछि टिम हेर्दा त मेरा आफ्नै मान्छे रहेछन् ।’

प्रकाश समाजमा ‘बोक्सी’ हुँदैन भन्ने मान्यता राख्छन् । मानसिक रोगीको पहिचान नगरी उसलाई ‘बोक्सी’ को आरोप लगाउने गरिएको प्रकाशको बुझाई छ । ‘मानसिक रोगलाई चिन्न नसकेर ‘बोक्सी’ अथवा अरु नै नाम राखिन्छ । पहिला पहिला डाक्टर र धामीझाक्रीले कोही मान्छे बिरामी भयो भने झारफुक गर्दा वा उपचार गर्दा उसको रोग चिन्न सकेनन् । रोग नचिनेपछि ‘बोक्सी’ भन्न थाले’, उनले भने ।

प्रकाश हरेक कुरामा वैज्ञानिक कुरा जोडिएको बताउँछन् । ‘पहिला पहिला महिलालाई मानसिक रोग हुँदा धामीझाक्री र डाक्टरकहाँ लैजान्थे । ती महिलालाई मानसिक रोग लागेको छ भनेर कसैले भन्न सक्दैन थिए । अनि के भन्ने त भन्दा ‘बोक्सी’ शब्द प्रयोग गरे’ प्रकाश भन्छन्, ‘खासमा महिलामा ‘बोक्सी’ समस्या होइन, उनीहरुमा मानसिक रोग देखिएको हो । धामीझाक्री र डाक्टरले के बिरामी हो भन्ने कुरा भन्न जानेनन् ।’

‘बोक्सी’को आरोप लागेका मानिसको मानसिक रोगको उपचार गर्नुपर्ने समयमा उनीहरुलाई अनेक यातना दिइनु गलत रहेको प्रकाशको बुझाई छ । ‘रोगको पहिचान गर्न नसक्नु नै हाम्रो कमजोरी हो,’ उनी भन्छन् ।