नेपाल फिल्म सोसाइटीमा पुनः कृष्ण

काठमाडौं । अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः निर्बिरोध निर्वाचित भएका छन् । नेपाल फिल्म सोसाइटीको १२ औं साधारण सभाबाट अभिनेता मल्ल अध्यक्ष पदमा चयन भएका हुन् ।

काभ्रेपलान्चोकको थुम्की रिसोर्टमा भएको साधारण सभा धुलिखेल नगरपालिकाको नगर प्रमुख अशोकब्याञ्जु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा अभिनेत्री बसुन्धरा भुसाल, लोकगायक प्रेमराजा महत, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, लक्ष्मण न्यौपाने र अभिनेत्री करिश्मा मानन्धर अतिथी थिए ।

अध्यक्षमा निवार्चित भएपछि अध्यक्ष मल्लले नेपाली कलाकारिताको विकासमा आफू कटिबद्ध भर्इ लागिपर्ने र नेपाली फिल्मलार्इ अन्तर्राष्ट्रियस्तरमा पुर्याउन अहोरात्र खट्ने बताए ।

सोसाइटीको प्रथम उपाध्यक्षमा निर्माता मोहनकृष्ण श्रेष्ठ द्वितीय उपाध्यक्षमा नारायण प्रधान र तृतीय उपाध्यक्षमा राकेश खड्का निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टङ्कनाथ पौडेल र कोषाध्यक्षमा शङ्करलाल श्रेष्ठ, सह कोषाध्यक्षमा दुर्गा बिशुराल र सदस्यहरुमा क्रमशः सुनिल कटुवाल, मदुकुमार श्रेष्ठ, गोपालकाजी कायस्थ, शिवहरि बैरागी, शर्मिला मल्ल, आरपी पन्त र सुभाष खड्का सर्वसम्मत चयन भएका छन् । नेपाल फिल्म सोसाइटीको शाखा अमेरिका र बेलायतमा समेत रहेको छ ।