काठमाडौँ । गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली फिल्मले दर्शकको राम्रो साथ पाएका छन् । बेलाबखतमा उल्लेख्य शो सङ्ख्या नपाएको भन्दै फिल्मको प्रदर्शन रोकिएता पनि गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली फिल्मले उल्लेख्य शो पाएका छन् । अहिले चलचित्र भवनमा स्वदेशी फिल्मकै दबदबा देखिएको छ ।
गत तिहारलाई लक्षित गर्दै कत्तिक १५ गतदेखि प्रदर्शनरत फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले कीर्तिमानी व्यापार गरिरहेको छ । निर्माण पक्षले दाबी गरेअनुसार यसले घरेलु बजारमा ४० करोड बढीको व्यापार (ग्रस कलेक्सन) गरिसकेको छ । विदेशमा पनि यसले व्यापारमा कीर्तिमान बनाइरहेको छ ।
यस्तै, गत कात्तिक ३० गतेदेखि प्रदर्शनरत फिल्म ‘ह्रस्व दीर्घ’ ले पनि आफ्नो लगानी सुरक्षित गरेको निर्मात्री तथा अभिनेत्री नीता ढुङ्गानाले जानकारी दिइन् । ‘नेपाल प्रदर्शन, विदेशी प्रदर्शन अधिकार, ओटिटी प्रदर्शन अधिकारबाट लगानी सुरक्षित गर्न सफल भएका छौँ । भारतको ओटिटी प्लेटफर्ममा महङ्गो मूल्यमा बिक्री गरेका छौँ । तेलुगु भाषामा हामी भारतका चलचित्र भवनमा नै प्रदर्शन गर्दैछौँ । यसकारणले हाम्रो लगानी सुरक्षित भएको घोषणा गरेका हौँ’, उनले भनिन् । अभिनेत्री ढुङ्गानाले स्वदेशी बजारमा एक सातामा रू पाँच करोड ५४ लाखको व्यापार गरेको जानकारी दिइन् ।
यस्तै फिल्म ‘तेल भिसा’ ले पनि सुरूआती समयमा राम्रो व्यापार गरिरहेको वितरक करण श्रेष्ठले जानकारी दिए । उनले भने, ‘तेलभिसा हेर्न परिवार नै चलचित्र भवनमा देखेका छौँ । शुक्रबार र शनिबार बिहानी शोमा देखिनुभएका दर्शक र उहाँले दिनुभएको प्रतिक्रियाले हाम्रो फिल्मको प्रचार उहाँहरूले नै गर्दिनुहुन्छ भन्नेमा ढुक्क छौँ । धेरै दर्शकको आँखा रसाएको पाएँ, किनकि यसमा विदेशमा रहेका परिवारको कथालाई देखाइएको छ ।’
फिल्ममा अभिनेता विपिन कार्की, ऋचा घिमिरे, पूजा चन्द, वर्षा राउत, बुद्धि तामाङ, सुचित्रा उप्रेतीसहित अमेरिकी कलाकारहरूले अभिनय गरेका छन् । शङ्कर घिमिरेले निर्देशन गरेको फिल्ममा छोराको सन्तान हुने भएपछि नेपालबाट अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथा देखाइएको छ ।
अभिनेता रमेश उप्रेतीले पछिल्लो समय बनिरहेका फिल्मले नेपाली विषय र कथालाई उठान गरेका कारण दर्शकको रोजाइमा परिरहेको बताए । उनले भने, ‘पछिल्लो समय मैले हेरेका नेपाली फिल्म निकै राम्रो बनेका छन् । नेपाली माटो सुहाउँदो कथा र प्रस्तुतीकरण भएका कारण दर्शक फिल्मको विषय र पात्रसँग जोडिएको हुन सक्छन् । यी फिल्म हेर्दा दर्शक सन्तुष्ट भएकै कारण एकपछि अर्को नेपाली फिल्मले राम्रो व्यापार समेत गरिरहेको छ ।’
आज नेपाली फिल्म हेर्न दर्शकको उपस्थिति विदेशी फिल्मको तुलनामा बढी देखिएको छ । दसैँ अगाडि पर्याप्त शो नपाएको कारण देखाउँदै फिल्म ‘बेहुली फ्रम मेघौली’ को निर्माण समूहले प्रदर्शन स्थगित गरेका थिए । तर अहिले चलचित्र भवनमा नेपाली फिल्मकै दबदबा देखिएको छ । व्यापारमा पनि विदेशीभन्दा नेपाली फिल्म निकै अगाडि देखिएका छन् ।