अष्ट्रेलियाका सहरमा ह्रस्व दीर्घ

काठमाडौं । नेपालमा सफलताका साथ प्रदर्शन भैरहेको फिल्म ‘ह्रस्व दीर्घ’ विदेश यात्रामा निस्केको छ । भोली बिहीबारबाट फिल्म अष्ट्रेलियावाइड रिलिज हुने भएको हो । फिल्मको अष्ट्रेलिया रिलिज युनाइटेड सिनेमाज र भिलेज सिनेमाले रिलिज गर्न लागेका हुन् ।

यो फिल्म अष्ट्रेलियाको सबैजसो सहरमा रिलिज हुन लागेको अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले बताइन् । नेपालमा दर्शकबाट अत्याधिक माया पाएसँगै फिल्मको विदेशमा माग बढेको दाबी अभिनेत्री ढुंगानाको छ । नेपालमा दोस्रो हप्तामा पनि उत्साहजनक व्यापार गरिरहेको फिल्मको लागि अभिनेत्री ढुंगानासहितको टिम दर्शकसँग साक्षात्कार गर्न मोफसल दौडाहमा छ ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्ममा बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालको छायांकन छ ।

फिल्ममा चन्द्र पन्तको निर्देशन छ । यसअघि केही भोजपुरी फिल्मको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली फिल्ममा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली फिल्म हो । अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो फिल्म तेलुगु र हिंन्दी भाषामा पनि रिलिज हुने तयारीमा छ ।