काठमाडौं । नेपाली तथा भोजपुरी फिल्मकी अभिनेत्री तथा मोडल समिता गिरीले नेपालमै पहिलो पटक कर्पोरेल शैलीको सौन्दर्य व्यवसायको थालनी गरेकी छिन् । काठमाडौंको कमलपोखरीमा केही दिन अघिदेखि सञ्चालनमा आएको ‘सलोन टाइम बाई आक्स मि मेडम’ मार्फत अभिनेत्री गिरीले अहिलेलाई काठमाडौं उपत्यका भित्र सेवा दिने उदेश्यले यो नौलो व्यवसायको थालनी गरेकी हुन् ।
काठमाडौंमा आफूले चाहेको बेला पार्लर अथवा सलूनको सेवा पाउनबाट बन्चित दिदी–बहिनीहरुलाई लक्षित गर्दै उनीहरुको घरमै अथवा तोकिएको स्थानमै गएर सौन्दर्य सम्बन्धि सम्पूर्ण सेवा उपलब्ध गराउने उदेश्यले यो व्यवसायको थालनी गरेको अभिनेत्री गिरीको भनाइ छ ।
अभिनेत्री गिरीले भारतको लोकप्रिय सलोन टाइमको फ्रेन्चाइजीको रुपमा काठमाडौंबाट यो व्यवसायको थालनी गरेको बताएकी छिन् । कमलपोखरीको कृष्ण पाउरोटीनजिकै स्थापना गरिएको ‘सलोन टाइम बाई आक्स मि मेडम’ ले सेवाग्राहीलाई उनीहरुले बोलाएको ठाउँमै गएर व्यटीपार्लरसम्बन्धि सम्पूर्ण सेवा उपलब्ध गराउने ‘लग्जरी होम सलून’ को रुपमा काम गर्न थालेको उनले बताएकी छिन् ।
‘टाइम फर पाम्परिङ योर सेल्फ’ भन्ने नारासहित कलाकार गिरीले काठमाडौं उपत्यकाका लागि ‘लक्जरी सलून एट होम’ को अवधारणा अनुसार यो सेवाको थालनी गरेकी हुन् ।
हालै कलाकार गिरीकी आमा तारादेवी गिरी तथा श्यामकुमार गिरीसहित केही सेलिब्रेटीहरुले उक्त होम सलूनको कार्यालयको रिबन काटेर शुभारम्भ गरेका छन् ।
‘मैले विगतमा धेरै–धेरै पटक पार्लर जाँदा पर्खिनु पर्ने, आफूले भनेको समयमा कहिले पनि सेवा नपाइने, भोलि आउनु, पर्सि आउनु भन्ने जस्ता कुरा सुन्नु परेपछि यो मेरो मात्र होइन, हामी सबै महिला दिदी बहिनीहरुको सामुहिक समस्या हो भन्ने सोचेर त्यही समस्याको समाधान गर्नका लागि सलोन टाइमकमार्फत काठमाडौंमा आफ्नो सेवाको थालनी गर्ने निर्णय गरेकी हुँ, कलाकार गिरीको भनाइ छ ।
गिरीका अनुसार यो होम सलूनले सेवाग्रहीलाई उनीहरुले चाहेको समयमा, उनीको घरमै अथवा उनीहरुले तोकेको स्थानमै गएर सेवा दिनेछन् । प्रारम्भिक चरणमा सलोन टाइममा तीन जना व्यूटिसिन तथा मेकअप आर्टिष्टहरुले सेवा दिइरहेका छन् । केही दिन भित्रै यसको सेवा काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुरसहित पूरै काठमाडौं उपत्यकामा उपलब्ध हुनेछ ।
सलोन टाइममार्फत हेयर कटिन, फेसियल, कलर, मेनिक्योर, पेडिक्योर, आइब्रो, नेल, मसाजसहित मेकअप तथा व्यूटी सम्बन्धि सम्पूर्ण सेवा लिन सकिन्छ ।
कलाकार गिरीले काठमाडौं उपत्यकामा यो सेवालाई स्थापित गराएपछि काठमाडैं बाहिर खासगरि जनकपुर, इटहरी तथा नेपालगञ्जमा समेत विस्तार गर्ने योजना बनाएकी छिन् ।