काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा गत शुक्रबारबाट पाँच दिने ‘फिल्म मेकिङ मास्टर क्लास’ सुरु भएको छ । ५४ जना फिल्मका विद्यार्थी तथा फिल्मकर्मीहरुको सहभागिता रहेको यस माष्टर क्लासको उद्देश्य अंग्रेजी तथा अन्य विदेशी फिल्म सरह दृश्य सोच तथा उत्पादन गर्न सक्ने क्षमता अभिवृद्धि रहेको छ । यस माष्टर क्लासलाई अष्ट्रेलियामा फिल्म विषयमा स्नातकोत्तर गरेका सरोजकुमार चौहानले नेतृत्व गरेका छन् ।
प्रमुख प्रशिक्षक चौहानले प्रत्यक्ष फिल्म निर्माण, प्रदर्शन र ह्यान्ड्स अन अवसरहरूमार्फत सहभागीहरूले सिनेम्याटोग्राफी, प्रकाश, कला डिजाइन, स्टेजिङ र निर्देशनको उपयोगद्वारा हलिउड फिल्म लुक सिर्जना गर्न अवधारणादेखि स्क्रिनसम्म सिनेम्याटिक प्रक्रियामा फष्ट ह्यान्ड अन्तर्दृष्टि प्राप्त गर्ने बताए ।
यो कार्यक्रम सिनेपाल स्टुडियो, भैसेपाटीमा सञ्चालन भईरहेको छ । यो प्रशिक्षण पश्चात सहभागीहरुले एक–एक लघु फिल्मको निर्माण गरी पौष ५ गते चलचित्र विकास बोर्डको प्रेक्षालयमा हुने समापन कार्यक्रममा प्रदर्शन गर्दै समापन गर्ने बोर्डले जनाएको छ ।