वैशाखमा चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव

काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका फिल्म समावेश गरिनेछ । महोत्सवको लागि फिल्म दर्ता आह्वान गरिएको अध्यक्ष सापकोटाले जानकारी दिए । महोत्सवमा डकुमेन्ट्री, शर्ट फिल्म,फिचर फिल्म र भाषाभाषीका फिल्महरुलाई समाबेश गरिनेछ।

‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र भाषाभाषीका फिल्म सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका फिल्महरू अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गरिनेछ ।

विगत चार वर्षदेखि आयोजना हुँदै आइरहेको यो महोत्सवमा मौलिक ग्रामीण विषयवस्तु समेटिएका फिल्महरू समेटिएको छ । महोत्सवमा फिल्म स्क्रिनिङ्गसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता फिल्म बनाउने र कस्ता फिल्मले दर्शकको साथ पाउने छ भन्ने विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठीहरु समेत गरिनेछ।

पहिलो वर्ष गोरखाको लाप्राकमा आयोजना गरिएको यो महोत्सव दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा र तेश्रो पटक रामेछापमा आयोजना गरिएको थियो ।

दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्महरूलाई विश्वमाझ पुर्‍याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको सापकोटाले बताए । उनका अनुसार महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य गरेको छ।