३८ दिनमा सकियो प्रकाशको वसन्त

काठमाडौं । गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशकिय फिल्म ‘बसन्त’को सम्पुर्ण छायांकन सकिएको छ । निर्माण टिमले दिएको जानकारी अनुसार ३८ दिनमा फिल्मको प्याकअप गरिएको हो । बुधबार फिल्मको अन्तिम सट खिच्दै काठमाडौंमा इन्डक्ल्याप गरिएको छ ।

आगामी चैत्र २२ गते चैते दशैंको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको फिल्म निर्माणमा आफु र आफ्नो टिमले निकै मेहनत गरेकाले आफुले सोचेको र खोजेकै जस्तो रिजल्ट निस्कनेमा गायक, अभिनेता तथा निर्देशक सपुत ढुक्क छन् । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा फिल्मको छायांकन गरिएको छ ।

फिल्ममा प्रकाश सपुतसहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहनेछ । यो सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्ने छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने फिल्मको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् । फिल्ममा सुसन प्रजापतिको छायांकन छ ।