कार्साङ ट्रेलरमा पीडित दयाहाङ

काठमाडौं । फिल्म ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर फिल्मका मुख्य पात्र दयाहाङ राईलाई समाजले पानीबाट काढ्ने चेतावनीबाट सुरु हुन्छ ।

झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन र समाजले गर्ने बहिष्कारलाई ट्रेलरले समेटेको छ ।

रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो देखाउँदै ट्रेलरले फिल्मको मुख्य पात्रले स्वाभिमानका लागि गर्ने संघर्ष र सम्झौता देखाउँछ ।

अन्धविश्वास, परिवारको माया, अरुको चियोचर्चो गर्ने समाजले परिवारमा पुर्याएको बेमेल र छिन्नभिन्न परिवारको कथा समेट्दै ट्रेलर अन्त्य हुन्छ ।

यो ट्रेलरले निर्दयी समाजले अभाव र दुःखमा बाँचिरहेको परिवारलाई कसरी भीरको फर्सी बनाउँछ, त्यो देखाएको छ ।

पुस २६ गते रिलिज हुने फिल्म ‘कार्साङ’ यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताएका छन् ।

फिल्मले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । फिल्ममा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो फिल्मका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।