ट्रेन्डिङमा कार्साङ ट्रेलर

काठमाडौं । फिल्म ‘कार्साङ’को ट्रेलर रिलिजको २४ घण्टा नबित्दै ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ । ट्रेलर मुभी सेक्सनको दुई नम्बरमा छ ।

एक नम्बरमा सलमान खानको सिकन्दरको टिजर छ । ‘कार्साङ’को ट्रेलरमा दर्शकको आकर्षण देखिएको छ । वर्षकै राम्रो ट्रेलर भन्दै फिल्मले पनि त्यस्तै सफलता पाउने प्रतिक्रिया युट्युबमा आइरहेको छ ।

फिल्मका प्रमुख दुई पात्र दयाहाङ राई र जितु नेपालको अभिनयको तारिफ गर्दै दर्शकले अब शेर्पा समुदायको कथा दर्शकले नजिकबाट नियाल्न पाउने बताइरहेका छन् ।

फिल्मका निर्देशक यम शेर्पाले ट्रेलरले पाएको यो माया फिल्मले पनि पाउनेमा आशा व्यक्त गरेका छन् । ट्रेलरमा पात्रको अभाव, झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन, समाजले गर्ने बहिष्कार, रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो देखाउँदै ट्रेलरले फिल्मको मुख्य पात्रले स्वाभिमानका लागि गर्ने संघर्ष र सम्झौता देखाएको छ ।

अन्धविश्वास, परिवारको माया, अरुको चियोचर्चो गर्ने समाजले परिवारमा पुर्याएको बेमेल र छिन्नभिन्न परिवारको कथा ट्रेलरमा देख्न सकिन्छ ।

पुस २६ गते रिलिज हुने फिल्म यम शेर्पाको डेब्यु निर्देशन हो । फिल्ममा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो फिल्मका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।