काठमाडौं । गायक सविन श्रेष्ठले ‘बिहानीको किरण’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । गीतमा उनकै शब्द र संगीत छ ।
गीतले प्रेम र एकअर्काबीचको साथको कुरा गर्छ । धोकाधडीमा रुमलिएको युवायुवतीको प्रेममा विश्वास र भरोसाको अपेक्षाको कुरा गर्छ । गीतमा निश्चल र स्वच्छ प्रेमको बयान छ ।
सविनले गीतको भिडियो पनि तयार पारेका छन् । जीवन भट्टराई र लक्ष्मी बर्देवाले अभिनय गरेका छन् । भिडियोको निर्देशन पनि जीवन र लक्ष्मीले नै गरेका छन् । बुद्ध थापाले खिचेको भिडियो विष्णु खड्काले सम्पादन गरेका छन् । गीत निर्माणमा दिमेश श्रेष्ठलगायतको लगानी छ ।
सविनलाई सवारी दुर्घटनाले संगीतको बाटो हिँड्न प्रेरित गरेको हो । २०७९ साल माघ २० गते बिहान सविन एक गम्भीर दुर्घटनामा परे । उनी होसमा आउँदा अस्पतालको शैयामा थिए । शरीरभरि असह्य पीडा, आँखा खोल्दा आफन्तहरूको आँसुले भिजेको अनुहार । त्यो दिनबाट सविनको जीवनको पहिलो अध्याय समाप्त भयो । दोस्रो अध्याय सुरु भयो । त्यो दोस्रो अध्याय संगीतको बाटो हो ।
उनी भन्छन्, ‘मेरो जीवनको पहिलो २० वर्ष पहिलो अध्यायलाई भएछ । त्यसपछि दोस्रो अध्याय सुरु भयो, जुन संगीत हो ।’
संगीतलाई साथी बनाएका उनी यसैसँग बाँचिरहेका छन् । संगीतको साधना र त्यसमा गरेको मेहनतलाई दर्शक र स्रोताले कदर गरेपछि उनी अहिले यसमै रमाइरहेका छन् ।
अहिले उनको अधिकांश समय संगीतको अध्ययन र साधनामा बित्ने गरेको छ । जसले उनलाई आनन्द दिन्छ । गीत र धुनहरूले उनको मनमा हराएको रंग फेरि फिर्ता गरिदिएको छ । दुर्घटनाले केही समय खोसेको खुसी फिर्ता भएको छ ।
दुर्घटनापछि सविनको संगीत यात्रा नारायणगोपालको ‘गल्ती हजार हुन्छन्’ गीतबाट सुरु भयो । उनका काकासमेत रहेका दिमेश भन्छन्, ‘सविनले पहिलो पटक गिटार हातमा लिएर त्यो गीत गाएको क्षण म कहिल्यै बिर्सिन सक्दिनँ । उसको स्वरमा सम्भावना देखेपछि मैले उसलाई गाउन प्रेरित गरेँ ।’