डल्लेले इन्ट्री मार्योमा डल्ले बन्दै सागर

काठमाडौं । अभिनेता तथा मोडल सागर लम्साल ‘बले’ नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ मा शुक्रबार अनुबन्धित भएका छन् । राजु गिरीको निर्देशनमा बन्ने फिल्ममा सागरले ३५ लाख रुपैयाँ पारिश्रमिक लिएका छन् । फिल्ममा उनी डल्ले नामक युवकको शीर्ष भूमिकामा प्रस्तुत हुदैछन् ।

सागर विशेषगरी ‘सक्किगो नि’ सिरिजबाट चर्चामा आएका हुन् । ‘लोफर’ फिल्मबाट ठूलो पर्दाको यात्रा थालेका उनले त्यसपछि ‘हैरान’ लगायतका केही फिल्म तथा सयौं म्युजीक भिडियोहरुमा अभिनय गरेका छन् । उनी प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘लाज शरणम’ १४ फागुनबाट प्रदर्शनमा आउँदैछ ।

निर्देशक राजुले क्यारेक्टरमा फिट, कुशल अभिनय र बजारको माग हेरेर सागरलाई शीर्ष भूमिकामा लिइएको बताए ।

सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको स्क्रिप्ट लेखन रहेको फिल्मको छायांकन फागुन अन्तिमबाट गरिने छ । सावित्रा चिलुवाल, निर्मला बस्नेत, आशिष र आदर्श बस्नेत निर्माता रहेको फिल्मका अन्य कलाकार तथा प्राविधिक चयन कार्य केही सातामा टुङ्ग्याइने छ । उषा फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म सोसियल कमेडी जनराको हुनेछ ।