काठमाडौं । कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको फिल्म ‘तान्डवम्’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको फिल्मको ५७ सेकेण्डको टिजरले फिल्मको कथाको बारेमा प्रकाश पार्न खोजेको छ ।
फिल्मका मुख्य कलाकार अंकित खड्काको संवादबाट सुरु हुने टिजर निर्देशकसमेत रहेका अभिनेता जुनिमको ‘भगवान पनि मै हुँ, राक्षस पनि मै हुँ’ संवादसँगै अन्त्य गरिएको छ । फिल्मको डार्क थिममा तयार पारिएको टिजरमा सबैजना प्रमुख पात्रलाई स्थान दिइएको छ ।
महाशिवरात्रीको अवसर पारेर फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा अंकित र जुनिमसँगै पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ ।
फिल्मले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।
सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको फिल्ममा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।