कर्माको पहिलो चरणको छायांकन पुरा



काठमाडौं । निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न भएको छ ।

गत मंसिरको अन्तिम साताबाट सुरु भएको फिल्मको छायांकन दाङ र आसपासका विभिन्न स्थानमा करिब ४६ दिन लगाएर पूरा गरिएको छ । अब, फिल्मको टिम काठमाडौंमा केन्द्रित भएको छ । निर्देशक चौधरीका अनुसार आगामी १० दिनभित्र सम्पूर्ण सुटिङ सम्पन्न गरिनेछ ।

‘कर्मा’को छायांकन चरणमै सम्पादन र भिएफएक्सको काम समेत भइरहेको छ । निर्देशक चौधरीले भने, ‘हामीले दिनरात नभनी अत्यन्तै मेहनतका साथ काम गरिरहेका छौँ । अबको दुई सातामा छायांकन पूरा हुनेछ, त्यसपछि पोस्ट(प्रोडक्सनको कामलाई तीव्रता दिनेछौँ । अहिलेसम्म कुनै बाधा(अड्चन बिना छायांकन सम्पन्न भइरहेको छ ।’

‘कर्मा’मा अभिनेता विपिन कार्की, अभिनेत्री उपासना सिंह ठकुरी, कलाकार मुकुन भुसाल र दिव्यदेव पन्त मुख्य भूमिकामा रहेका छन् । विपिन र उपासना पहिलो पटक सहकार्य गर्दैछन् भने मुकुन भुसाल नेगेटिभ भूमिकामा प्रस्तुत हुनेछन् ।

एक्सन ड्रामा जनरामा निर्माण भइरहेको ‘कर्मा’को कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् । चौधरीका अनुसार अभिनेता विपिन कार्की पहिलो पटक एक्सन अवतारमा देखिन लागेका छन् ।

आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने फिल्मका निर्माता बसन्त लम्साल हुन् । सेभेन सिज सिनेमाले फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार लिएको छ ।फिल्मको छायांकन संजय लामाले गरिरहेका छन् । निर्देशक चौधरीको ‘कर्मा’ तेस्रो निर्देशकीय फिचर सिनेमा हो । उनले यसअघि ‘अगस्त्यः च्याप्टर १’ निर्देशन गरेका थिए । ‘कर्मा’ नयाँ वर्षको अवसर पारेर चैत्र २९ गते प्रदर्शनमा आउने तयारीमा छ ।