घर ज्वाइँको सफलतापछि मितज्यू घोषणा



काठमाडौं । यसवर्षको हिट फिल्म ‘घरज्वाइँ’को टिमले नयाँ फिल्म ‘मितज्यू’ को निर्माण घोषणा गरेको छ । बसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पार्दै जनक घर्ती मगरको निर्माण र अनिल बुढा मगरको निर्देशनमा ‘मितज्यू’को घोषणा गरिएको हो ।

सोमबार सार्वजनिक फिल्मको पेन्टिङ्ग थिम पोस्टरमा दुई पात्रलाई एक सामान बोक्न भ्यान अगाडि हातको पञ्जा जुधाई रहेको अवस्थामा प्रस्तुत गरिएको छ । भ्यानको माथि खसी र खसीको टाउकोमा कुखुराको भालेलाई देख्न सकिन्छ । फिल्मको सार्वजनिक थिम पोस्टरबाट ‘मितज्यू’को कथावस्तु बारेमा जानकारी दिइएको छ ।

यो वर्ष रिलिज भएको ‘घरज्वाइँ’ बक्सअफिसमा हिट भएपछि सोही टिमले निर्माण गर्न लागेको फिल्म वर्ष २०८२ को चैत्र २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको छ । यो वर्ष ५१ औं दिन मनाउने फिल्म सूचीमा ‘घरज्वाइँ’ पर्छ । जुन फिल्मले दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो । फिल्मलाई नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ ।

जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुनेछ । अर्को वर्षको छायांकन हुने फिल्ममा को(को कलाकार रहने भन्ने निर्माण टिमले सार्वजनिक गरेको छैन् । केही दिनपछि बाट फिल्मको कास्ट एण्ड क्रिउको बारेमा जानकारी दिँदै जाने निर्माता जनक घर्ती मगर बताउँछन् ।

महेश राईको लेखन रहेको फिल्मका प्रोडक्सन कन्ट्रोलर धनबहादुर राई हुन् । नोभिस आर्ट्सले डिजाइन गरेको पोस्टरको पेन्टिङ्ग पुष्प आले मगरले गरेका हुन् ।