वरिष्ठ बलरामको घोषणा



काठमाडौं । सम्पादक तथा निर्देशक सुरेन्द्र पौडेलले आफ्नो चौथो निर्देशकीय फिल्मको रूपमा ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने घोषणा गरेका छन्। वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर पौडेलले सोमबार फिल्मको औपचारिक घोषणा गरेका हुन्।

फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् भने छायाङ्कन आगामी फागुनको पहिलो साताबाट सुरु गर्ने तयारी गरिएको छ। सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा रहनेछन्।

फिल्म २०८२ सालमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। हालसम्म दयाहाङ र विजय मात्र फाइनल भएका छन् भने दयाहाङको अपोजिटमा रहने नायिकाको नाम भने निर्माणपक्षले खुलाएको छैन। अन्य कलाकारको चयन तथा प्राविधिक टोलीबारे निर्माण पक्षले क्रमशः जानकारी दिने बताएको छ।

केही दिनमै सार्वजनिक गरिने टिजरमार्फत थप कलाकारको नाम सार्वजनिक गर्ने योजना निर्माण टिमको छ। फिल्मको छायाङ्कन तराईका विभिन्न स्थानमा गरिनेछ।

‘वरिष्ठ बलराम’ वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको हो।