द्रौपदीको कर्णाली काटौला

काठमाडौं । आगामी चैत ८ गते प्रदर्शनको तयारीमा रहेको ‘द्रौपदी’को गीत ‘कर्णाली काटौला’ सार्वजनिक भएको छ । गीतमा रवी ओड र इन्द्रकला राईको स्वर, निर्देशक ऋषिराज आचार्यको शब्द र रबि ओडको संगीत छ ।

गीतको भिडियोमा डेब्यु नायिका आश्विनी शाही, निर्देशक ऋषिराज स्वयम्,गायक रबि र सुजाता तिमिल्सीनाको अभिनय छ । डोल्पाको शे फोक्सुण्डो ताललगायत कर्णालीको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको फिल्मको गीतको कोरियोग्राफी बिष्णु ठडराईले गरेका छन् ।

निर्देशक आचार्यले आफुले अत्यन्तै मौलिक विषयबस्तुमा फिल्म निर्माण गरेको बताए । उनले कथाको माग अनुसार नै फिल्ममा नवकलाकारहरुको वर्चश्व रहन गएको जानकारी दिए ।

डेब्यु नायिका आह्विनी शाहीले फिल्मबाट आफू निकै आशावादी रहेको बताइन । करिब ४ सय जना आवेदकहरु मध्येबाट द्रौपदीको भुमिकाका लागि छनौट भएकी आश्विनीले निकै मेहनतका साथ अभिनय गरेको स्मरण गरिन । फिल्मको छायांकन डोल्पामा करिब डेढ महिनासम्म गरिएको थियो ।

यही फिल्मबाट ठूलो पर्दाको अभिनयमा डेब्यु गरेका गायक रबिले आफुले पाएको चरित्र र भुमिकामा न्याय गर्ने कोशिस गरेको बताए । उनले आफुलाई मन परेको र गर्न सक्छु भन्ने लागेकाले अभिनय गरेको प्रस्ट पार्दै आफू सुहाउँदो भुमिका पाएमा अभिनयलाई निरन्तरता दिने बताए ।

निर्माता तथा अभिनेता प्रकाश ज्ञवालीले फिल्मले मौलिक नेपाली कथा बोकेको बताउदै यसप्रकारका बिषय प्रचुरताका साथ पर्दामा उतारिनु पर्नेमा जोड दिए । अर्का अभिनेता कबिराम भामले पनि मैलिक फिल्म निर्माणमा जोड दिनु पर्ने राय राखे । अर्की डेब्यु अभिनेत्री सुजाता तिमिल्सिनाले सुटिङका क्रममा आफू दुर्घटनामा परेको स्मरण गर्दै बिकट भौगोलिक अवस्थाका कारण निकै कस्टपूर्वक सुटिङ गर्नु परेको बताइन ।

फिल्ममा आश्विनी, रबि ओड, कबिराज, जेल्सन अधिकारी, सुजाता तिमल्सिना बिस्णु ठडराई (सुबास), प्रकाश ज्ञवाली ,सीता बौडेल, सुरज अधिकारी र ऋषिराज मुख्य भुमिकामा छन । निर्देशक ऋषिराजकै लेखन, गीत अनि निर्माण रहेको फिल्मको सम्पादन अनिल महर्जनले गरेका हुन । सौरभ शर्माको पार्श्व संगीत रहेको फिल्म मोहनकुमार झिल्लुले खिचेका हुन ।

आर बि मुभिजको ब्यानरमा बनेको फिल्मको सहनिर्मातामा ऋतु आचार्य र बिष्णु ठडराई छ्न । फिल्मलाई एप्पल इन्टरटेन्टमेन्ट ,एफ डि कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रुपमा बितरण गर्दैछ ।