रवि ओड भन्छन्–तराईको क्यारेक्टरमा अभिनय गर्न चाहन्छु

काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल २’का विजेता रवि ओड फिल्म ‘द्रौपदी’मार्फत अभिनयमा डेब्यू गर्दैछन् । आगामी चैत ८ गते रिलिज हुने यो फिल्मका लागि रवि यतिखेर प्रचारप्रसारमा व्यस्त छन् ।

रविका अनुसार यो फिल्म उनका लागि विशेष छ । ‘एक त म पहिलोपटक फिल्ममा अभिनय गर्दैछु । अर्को कुरा मैले राम्रो भूमिकामा काम गर्न पाएको छु । म यो फिल्ममा अनुबन्धित हुँदा मुख्य हिरो को हो भन्ने कुरामा अन्यौल थियो । फिल्ममा हिरोकै भूमिका नभएपनि कहिँ कतै मेरो भूमिका राम्रो छ भन्नेमा म ढुक्क थिएँ’, रवि भन्छन् ।

रविले गायन र अभिनय विधा एउटै क्षेत्र भएकाले फिल्ममा अभिनय गर्न खासै गाह्रो नभएको बताए । रविले फिल्मकै लागि दुई महिनाको अभिनय कक्षा पनि लिएका रहेछन् । ‘त्यो कक्षाले मलाई धेरै ठूलो सहयोग गर्यो’, उनी भन्छन् ।

रवि आफू तराईको क्यारेक्टरमा अभिनय गर्न मन भएको खुलाउँछन् । ‘मेरो बोली पनि तराईको लवजमा छ । त्यसकारण त्यस्तो क्यारेक्टरमा काम गर्न मन छ । कुनै दिन त्यो चाहना पुरा गर्नेछु’, उनले भने ।

उनले ‘द्रौपदी’मा आफ्नो चरित्रलाई दर्शकले स्वीकार्नेमा आफू ढुक्क रहेको खुलाए । ऋषिराज आचार्यको लेखन तथा निर्देशन रहेको फिल्ममा ऋषिराज आचार्य, आश्विनी शाही,गायक रबि ओड, सुजाता तिमिल्सिना,कबिराज भाम, जेल्सन अधिकारी,बिष्णु ठडराई, प्रकाश ज्ञवाली ,सीता बौडेल,सुरज अधिकारीलगायतको अभिनय छ ।