सरिता भन्छिन्–कर्माले आमा चरित्रको ट्यागलाइन परिवर्तन गर्छ



काठमाडौं । अभिनेत्री सरिता गिरीले फिल्म ‘कर्मा’ले नेपाली फिल्म नगरीमा रहेको आमा चरित्रको ट्यागलाइन नै परिवर्तन गरिदिने दाबी गरेकी छन् ।

अहिले आमाको चरित्र भन्नेबित्तिकै जुन इमेज आमा दर्शक र फिल्मकर्मीको दिमागमा आउँछ, त्यो परिवर्तन ‘कर्मा’मा रहेको आमाको चरित्रले मेटाइदिने उनको भनाइ छ ।

आमाको चरित्र भन्ने बित्तिकै फिल्ममा सामान्य हुने गरेको र बुझाइ पनि त्यस्तै रहेको सरिता भन्छिन् । यो भाष्य ‘कर्मा’ले बदलदिने उनको भनाइ छ ।

सरिताले निर्देशक सौरभ चौधरीले आफूलाई फिल्ममा अफर गर्दा नै आफू इम्प्रेस भएको उनको भनाइ छ । सौरभले आफूलाई आमा होइन क्यारेक्टर चाहिएको भनेर अफर गरेको उनले बताइन् ।

‘उहाँ (निर्देशक सौरभ चौधरी)ले अफर गर्दाको यो लाइनले नै मलाई टच गरेको थियो,’ उनले भनिन्, ‘चलचित्रमा आमा चाहिएको होइन क्यारेक्टर चाहिएको हो भन्नुभएको थियो । सिनेमामा पनि त्यस्तै छ ।’

आफूले अहिलेसम्म थुप्रै फिल्ममा आमाको क्यारेक्टरमा काम गरे पनि ‘कर्मा’मा भनेर फरक खालको चरित्र रहेको उनको दाबी छ । आफूले चरित्रमा काम गर्न मन पराउने र ‘कर्मा’को आमाको क्यारेक्टर पनि त्यस्तै रहेको उनले बताइन् ।

‘मैले अहिलेसम्म आमाको चरित्र धेरै गरेँ होला । तर, कर्मामा आमाको चरित्र मात्रै छैन,’ उनी भन्छिन्, ‘यसमा आमासँग सँगै धेरै कुरा छ । यसमा निर्देशकले यो क्यारेक्टरलाई यसरी चलाउनुभयो, अहिलेसम्म चलेको आमाको ट्यागलाइन यो फिल्म रिलिज भएपछि हट्नेछ ।’

‘कर्मा’मा सरिता गिरी विपीन कार्कीको आमाको भूमिकामा छिन् । फिल्ममा विपीन र सरितासँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको पनि अभिनय रहेको छ ।

नयाँ वर्ष २०८२ को छेको पारेर फिल्म ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदैछ । नेपाल र विदेशमा यो फिल्म एकसाथ प्रदर्शन हुनेछ ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।

‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।