तेस्रो नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव सुरु



काठमाडौँ । थापागाउँस्थित मण्डला नाटकघरमा बुधबारदेखि ‘तेस्रो नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)’ सुरु भएको छ । १२ देशका १७ नाटक सहभागी महोत्सवको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्माले दमाहा बजाएर उद्घाटन गरिन् ।

उक्त समारोहमा कुलपति शर्माले आफ्नो नाट्य जीवनको स्मरण गर्दै नाटक मनोरञ्जन मात्र नभई कलाकारका लागि जीवन र साधना रहेको बताइन् । उनले भनिन्, ‘हामीले नाटकलाई लिएर जुन सपना देखेर यात्रा सुरु गरेका थियौँ, नयाँ पुस्ताले त्यसलाई मेहनत र इमान्दारिताका साथ अगाडि बढाउनुभएको छ । नाट्य क्षेत्र अहिले राम्रो भएको छ र भविष्य झनै राम्रो छ । यस किसिमको महोत्सवले हाम्रो ज्ञान आदानप्रदानसँगै आम दर्शकलाई नाटकको गतिविधिमा जोड्न मद्दत गर्छ ।’ कुलपति शर्माले महोत्सवमा सहभागी भएर आफूले पनि विभिन्न नाटक हेर्ने बताइन् ।

‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ नारासहित आयोजना गरिएको महोत्सवमा रङ्गमञ्चसँगै कला, संस्कृति, चलचित्र, मिडिया, नीति, राजनीतिलगायत विविध विषयमा छलफल हुने महोत्सव निर्देशक दयाहाङ राईले बताए । ‘हाम्रो रङ्गमञ्चको भोगाइ, यात्रा र अनुभव साटासाट गर्ने थलोका रूपमा यो महोत्सवलाई तयार गरेका छौँ । हामीले सिकेको र आर्जन गरेको ज्ञान नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने एउटा कोसिस गरेका छौँ । यहाँ साहित्य, रङ्गमञ्च चलचित्र सबै विषयमा चर्चा गर्नेछौँ’, उनले भने ।

निर्देशक राईले मनोरञ्जनसँगै ज्ञान निर्माणमा महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार तेस्रो संस्करणअन्तर्गत आयोजित महोत्सवमा स्कटल्यान्ड, चीन, जर्मनीलगायत विभिन्न देशबाट १०० भन्दा बढी कलाकार सहभागी भएका छन् ।

यसपटक काठमाडौँसँगै पोखरा, भरतपुर र बेलबारीमा पनि निटफेस्टको आयोजना हुनेछ । पोखरामा यही फागुन ९ गते, भरतपुर र बेलबारीमा १० गतेदेखि निटफेस्ट सुरु हुनेछ । कला प्रदर्शनी, सङ्गीत, नृत्यलगायत गतिविधि समेटिनाका साथै परम्परागत संस्कृति तथा लोकसंस्कृतिको प्रवर्द्धनलाई महोत्सवले प्राथमिकतामा राखेको आयोजकले जनाएको छ । लोकनृत्य, लोकसङ्गीतदेखि चित्रकलासम्मका अन्य गतिविधि समावेश भएको महोत्सव चैत १२ गतेसम्म सञ्चालन हुनेछ ।