काठमाडौं । निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माको डेब्यू अभिनय रहेको म्युजिक भिडियो ‘रिटिङ रिटिङ र्याइँ र्याइँ’ सार्वजनिक भएको छ । भिडियो बिहीबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
गीत रिलिज कार्यक्रममा बोल्दै निर्माता तथा निर्देशक अशोक शर्माले छोरी कृतिले आफुलाई यो म्युजिक भिडियोमा अभिनय गरेर सरप्राइज दिएको बताए । ‘उm फिल्मको पर्दामा भन्दा पनि पर्दा पछाडी काम गर्न रुचाउने मान्छे हो । उसले यसअघि ‘पानीफोटो’ र ‘रातो टीका निधार’मा लगायतका फिल्ममा सहायक निर्देशकको रुपमा काम गरेको थियो । उसलाई अभिनय गर्ने इच्छा छ भन्ने थाहा पाएँ । मेरो फिल्मबाट नै डेव्यु गराउन तयार थिएँ,’ निर्देशक शर्माले भने ।
मोडल सुनिल क्षेत्रीले नै अभिनय र निर्देशन गरेको म्युजिक भिडियोमा गायक बसन्त थापा र एलिना चौहानको स्वर छ । यो गीतको शब्द गीतकार राजेन्द्र थापाले लेखेका हुन् । अभि वाग्लेको कोरियोग्राफी रहेको गीतमा सुरवीर पण्डितको समेत अभिनय रहेको छ ।
डेव्यु अभिनेत्री कृति शर्माले मोडल तथा सुनिल क्षेत्रीको अफर मन परेको र उनीसँग भ्वाइससमेत मिलेकाले अभिनय गर्न तयार भएको बताइन् ।
नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा अमृत चापागाईंको सम्पादन र कलर छ ।