वसन्त साँझमा वसन्त ट्रेलर



काठमाडौं । आगामी चैत्र २२ गते रिलिज हुने फिल्म ‘वसन्त’को अफिसियल ट्रेलर पर्सी शनिबार सार्वजनिक तयारी भैरहेको छ । काठमाडौंको बसुन्धारास्थित सिटी स्क्वायर मलमा ‘वसन्त साँझ’को आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गर्ने तयारी निर्देशक तथा अभिनेता प्रकाश सपुतको छ ।

वसन्त साँझमा अभिनेत्री स्वस्तिमा खड्का, गायक तथा अभिनेता प्रकाश सपुत, गागिका शान्तिश्री परियार, प्रीति आले तथा देवेन्द्र बब्लु (द फिरन्ते)ले प्रस्तुती दिनेछन् । फिल्मका निर्देशक, अभिनेता तथा गायक प्रकाश सपुतले धेरै भन्दा धेरै दर्शकलाई उपस्थित भएर वसन्त साँझलाई भव्य अनि सभ्य बनाउन शुभ चिन्तकमाझ अपिल गरेका छन् ।

गायक प्रकाश सपुतको डेव्यु निर्देशनमा निर्माण भएको फिल्ममा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्ने छ । फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा फिल्मको छायांकन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले फिल्म वितरण गर्नेछन् ।