गीतमा आउ कान्छी घुम्नलाई इलाम बजार

काठमाडौं । इलामको पर्यटकीय स्थल कन्याम चिया बगानसँगै इलाम बजारको दृष्यलाई समेट्दै इलामेली कलाकारहरुले तयार पारेको ‘आउ कान्छी घुम्नलाई इलाम बजार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा ताराप्रकाश लिम्बु र सुनिता थेगिमको स्वर, खड्ग लुङ्गेलीको शब्द र ताराप्रकाश लिम्बुको संगीत छ । इलाम बरबोटे निवासी काजी रानाको निर्देशनमा निर्माण गरिएको म्युजिक भिडियोमा भावना खपाङ्गी मगर, विमला राना, आशिका सक्तेन राई, रोशित कर्माचार्य, जर्मन नेम्बाङ र विवश राईको अभिनय छ ।

यसअघि विभिन्न फिल्ममा कला निर्देशकको काम गरेका भिडियो निर्देशक राना चित्रकारसमेत हुन् । उनले फिल्म ‘१२ सत्ताइस’ तथा केही वृत्तचित्रमा मुख्य भूमिका निर्वाह गरिसकेका छन् । भिडियोमा इलामको युनिभर्सल डान्स सेन्टर, युनिक डान्स सेन्टर, भिभा डान्स सेन्टर तथा गाउँलेको सहकार्य छ।

म्युजिक भिडियोमा उर्मिला श्रेष्ठको कोरियोग्राफी छ । साविकको बरबोटे गाविस, तोरीबारी, माल्बासे निवासी हाल युकेमा बसोबास गर्दै आएका गीतकार खड्ग लुङ्गेली ब्रिटिस गोर्खा सैनिक हुन् । यसअघि लुङ्गेलीकै शब्द रचना रहेको ‘नबिर्सनु है’ बोलको गीत सार्वजनिक भएको थियो । सो गीतमा पनि ताराप्रकाश लिम्बुकै संगीत संयोजन थियो भने मेलिना राईले स्वर दिएकी थिइन् ।