काठमाडौं । विगत ९ वर्ष देखी फिल्म निर्माण र अभिनय सम्बन्धी अध्ययन अध्यापन गराउँदै आइरहेको कान्तिपुर फिल्म एकेडेमीले गैह्रिधारा नक्सालको आफ्नै एकेडेमी परिसरमा कान्तिपुर थिएटरको सुरुवात गरेको छ ।
एकेडेमीका सिइओ प्रकाश पुरीले अभिनय पारखी र नाट्यकर्मीहरुको लागि थिएटर निर्माण गरेर रंगिन पर्दा र रंगमञ्चलाई सँगसँगै जोडेर लाने उद्देश्य लिइएको बताए । थिएटरको सुरुवातसँगै अब फिल्मका विद्यार्थीले कान्तिपुर फिल्म एकेडेमीमा थिएटर सम्बन्धी पनि अध्ययन र अभ्यास गर्न पाउने अवसर पाउनेछन ।
७५ फिट लम्बाई, २९ फिट चौडाई र १६ फिट उचाईमा बन्न लागेको १४४ सिट क्षमताको यो थिएटर बैशाख महिना भरिमा निर्माण सम्पन्न भइसक्नेछ । एकेडेमीको अभिनय ब्याचका विद्यार्थीहरुको लागी थिएटर प्रोडक्सन र प्रदर्शनसँगै मञ्चनको लागी विभिन्न नाट्य समुह तथा रंगकर्मीहरुको लागी पनि मञ्च उपलब्ध गराउने साथै सुटीङ्ग, अडिसन, स्क्रीनीङ्ग, शोज र चलचित्र सम्बन्धी अन्य गतिविधिको लागी पनि हल उपलब्ध गराउने एकेडेमीले जानकारी गराएको छ ।
शिलान्यास कार्यक्रमका प्रमुख अतिथि राजेश हमालले कान्तिपुर थिएटरको निर्माणसँगै नेपाली चलचित्र र रंगमञ्चमा आउन र सिक्न खोज्ने नव प्रवेशीहरुको लागी अवसरको दायरा फराकिलो भएको विश्वास व्यक्त गरे र एकेडेमीले अझै राम्रे राम्रा प्रोडक्ट र प्रोडक्सन गरोस् भन्दै सबैलाई रंगमञ्च दिवसको शुभकामना दिए ।
कान्तिपुर फिल्म एकेडेमीले गत बर्ष ‘कान्तिपुर सिनेमाजु नामक ओटीटी प्लाटफर्मको पनि सुरुवात गरेको थियो । हाल ‘कान्तिपुर सिनेमाज’मा फिल्म, सिरीज, सर्ट फिल्म, मिनी सिरीज र थिएटर प्ले पनि स्ट्रमीङ्ग भइरहेको छ ।