जेठ २३ मा जन्ते बाख्रो

काठमाडौ । अभिनेता सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘जन्ते बाख्रो’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सार्वजनिक पोस्टरमार्फत् फिल्म आगामी जेठ २३ गतेबाट प्रदर्शनमा जानकारी दिइएको हो ।

हिमालको काखमा सेटअप गरिएको पोस्टरमा आशिफ र गरिमालाई रोमान्टिक अवतारमा प्रस्तुत हुँदा सौगातले निराश भावमा उनीहरुलाई हेरिरहेका छन् । उनीहरुको बीचमा चस्मा लगाएको बाख्रोलाई देखाइएको छ । निर्माण टिमले यसलाई बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो रुपमा चित्रण गर्न खोजेको बुझिन्छ ।

सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको फिल्ममा सौगात, आशिफर गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय छ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने फिल्म सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको फिल्मको निर्माता सन्तोष गौतम हुन् ।

फिल्ममा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स स्वंयम निर्माण कम्पनी मुईन इन्टरटेनमेन्टले नै राखेको छ ।