कर्मा ट्रेलरमा विपिनको परिबन्ध

काठमाडौं । फिल्म ‘कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा बिहीबार एक कार्यक्रम आयोजना गरेर ‘कर्मा’को ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा फिल्मका मुख्य कलाकार अटाएका छन् । विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरीलगायत कलाकार अटाएको ट्रेलरमा एक्सनले प्रधानता पाएको छ ।

सार्वजनिक ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष र सिधा युवालाई कुन हदसम्म पुर्याउँछ भन्ने देखाएको छ । आफ्नो उद्देश्य प्राप्तिका लागि हिँडेको युवा कसरी परिवन्धमा परेर गुण्डागर्दी र प्रहरीको कष्टडीसम्म पुग्छ भन्ने ट्रेलरमा समावेश छ ।

प्रेमसँगै आमाको आशिवार्द र निर्दयी समाजको कथा सिनेमाको ट्रेलरले संकेत गरेको छ । विपीनलाई एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भन्ने प्रयास गरेका छन् ।

‘कर्मा’मा विपीन, उपासना मुकुन र सरितासँगै दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।

नयाँ वर्ष २०८२ को छेको पारेर फिल्म ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ । फिल्ममा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।