कलाकार तेजा ऐरको निधन

कञ्चनपुर । कलाकार तेजा ऐरको शनिबार निधन भएको छ । नेपाली फिल्ममा खलनायकको भूमिका निभाएका उनको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा निधन भएको तेजाका भाई डबलबहादुरले जानकारी दिए ।

कलाकार ऐर दुई वर्षदेखि पक्षघात र मिर्गाैलासम्बन्धी समस्याबाट पीडित थिए । तीन दशकदेखि सानाठूला नेपाली फिल्ममा ऐरले खलनायकको भूमिकामा अभिनय गर्दै आएका थिए ।

थारू भाषाको फिल्म ‘मोर बस्ती’बाट यस क्षेत्रमा डेब्यु गरेका ऐरले थारू, नेपाली र भोजपुरी भाषाका झण्डै एक सय चलचित्रमा खलनालयको भूमिका निर्वाह गरेका थिए ।

ऐरले सत्या, हिरासत, विजयपथ, विरासत, हिम्मतवाली, जय परशुराम, रामजाने, कमाण्डरलगायत फिल्ममा अभिनय गरेका थिए । विभिन्न टेलिफिल्म र म्युजिक भिडियोमा समेत उनले अभिनय गरेका थिए ।