मुम्बई(एजेन्सी) । सोनी टेलिभिजनको चर्चित रियालिटी शो ‘इण्डियन आइडल १५’को विजेता मानसी घोष बनेकी छन् । उनी कोलकाताकी हुन् ।
आफ्नो जादुमयी आवाजबाट दर्शकको मन जितेकी मानसीले ट्रफीसँगै २५ लाख रुपैंयाँ पुरस्कार र एक कार जितेकी छन् । विजेता घोषणा भएपछि सामाजिक सञ्जालमा फ्यानले मानसीलाई बधाई दिइरहेका छन् । फाइनलमा उनले सुभाजीत र स्नेहा शंकरलाई पछि पारेकी हुन् ।
मानसीको इण्डियन आइडल यात्रा निकै चुनौतीपूर्ण रह्यो । उनले शोभरी राम्रो प्रदर्शन गरिन् । इण्डियन आइडलको यो सिजनमा श्रेया घोषाल, विशाल ददलानी र बादशाह निर्णायक थिए ।
मानसी उमेरले २४ वर्षकी छिन् । उनी कोलकाताको दमदम इलाकामा बस्छिन् । उनले क्राइस्टचर्च स्कुलबाट १२ सम्म पढिन् । त्यसपछि उनले अङ्ग्रेजीमा ग्राजुएसन गरिन् ।
उनले चार वर्षको उमेरदेखि संगीतको यात्रा सुरु गरेकी थिइन् । मानसी यसअघि सुपर सिंगर रियालिटी शोको विजेता हुन् ।