काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको प्रकाश सपुतको डेव्यु निर्देशित फिल्म ‘वसन्त’ले सुखद् व्यापार गरिरहेको छ । दर्शकबाट फिल्मलाई उत्कृष्ट वर्डअफ माउथ मिलेको छ ।
यो फिल्म हेर्न पुगेका दर्शकहरूलाई प्रकाशले केही सरप्राइज पनि दिएका छन् । जसमा राजेश हमाल, दीलिप रायमाझी, निश्चल बस्नेत, नाजिर हुसेन, करिश्मा मानन्धर, केकी अधिकारी, प्रियंका कार्की, सुरक्षा पन्तलाई फिल्ममा देख्न सकिन्छ ।
उनीहरुसँगै फिल्ममा लोकदोहोरीकी गायिका शान्तिश्री परियार, मोडल अञ्जली अधिकारी समेतलाई हेर्न सकिन्छ । ‘वसन्त’मा यति धेरै चर्चित कलाकारहरूको अभिनय रहेपनि निर्देशक तथा अभिनेता प्रकाश सपुतले यसबारे प्रदर्शनअघि कुनैपनि जानकारी दिएका थिएनन् । फिल्म रिलिज पश्चात यी कलाकारहरूको दृश्यको भिडिओ क्लिप टिकटकमा समेत भाइरल भइरहेका छन् ।
फिल्ममा प्रकाशसहित स्वस्तिमा खड्का, खड्गबहादुर पुन (खबपु), प्रभात पाल ठकुरी, श्री शिभांसी, उर्मिला लाम्गादे, अनुप बराल, प्रकाश घिमिरे लगायत कलाकारको अभिनय छ । मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्माता तथा कार्यकारी निर्मातामा बिरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन् ।