काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’ को गीत ‘मोटर’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतलाई फिल्ममा कथा वाचनको रुपमा प्रस्तुत गरिएको छ ।
गीतमा फिल्मका मुख्य कलाकार प्रकाश सपुत र खड्कबहादुर पुन (खबपु) फिचर्ड छन् । यो गीतमा गायक सपुतकै स्वर, शब्द तथा कम्पोज र योगश काजी शाहको एरेञ्ज रहेको छ । सार्वजनिक गीतले फिल्मको व्यापारमा समेत फाइदा गर्ने अपेक्षा निर्माण टिमको छ । निर्देशक तथा गायक सपुतले फिल्मको भाव अनुसार नै ‘वसन्त’को गीत ‘मोटर’ तयार गरेका बताए ।
गत चैत्र २२ गते शुक्रबारबाट नेपाल र विदेशमा एक साथ रिलिज रिलिज भएको फिल्ममा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन ९खबपु०, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले देखाएको छ । फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्रनारायण श्रेष्ठ छन् ।
गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा फिल्मको छायांकन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय फिल्ममा सुसन प्रजापतिको छायांकन छ ।