लेस्टर स्क्वायरमा शाहरुख र काजोलको मूर्ति

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता शाहरुख खान र उनको एक सहकर्मी अभिनेत्री काजोलको मूर्ति यसै वर्षको अन्त्यमा लण्डनको लेस्टर स्क्वायरमा अनावरण हुने भएको छ ।

भारतीय फिल्मको इतिहासमा सर्वाधिक लामो समय अर्थात् ३० वर्षसम्म प्रदर्शन भएको फिल्म ‘दिलवालै दुल्हनिया ले जाएङ्गे’को यो रोमान्टिक जोडीको मूर्तिले दर्शकलाई यो फिल्मको स्मरण गराउनेछ ।

लेस्टर स्क्वायरको स्क्वायर ट्रेलका दृश्यहरुमा ह्यारी पोर्टर, सिङ्गिङ इन द रेनमा जीन केली, मेरी पपिन्स र ब्याटमेनका मूर्तिहरु पनि हुनेछन् ।

हर्ट अफ लण्डन बिजनेस एलायन्सका कार्यवाहक प्रमुख कार्यकारी मार्क विलियम्सले अन्तर्राष्ट्रिय फिल्मका महान कलाकारहरुलाई ट्रेलरमा राख्नु आफैंमा शानदार कुरा रहेको बताए ।

‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ बलिउडको सबैभन्दा सफल र महत्वपूर्ण फिल्महरुमध्ये एक हो’, विलियम्मले भनेका छन् ।

उनका अनुसार लेस्टर स्क्व्यारमा ट्रेलमा फिचरिङ गरिएको यो पहिलो फिल्म हो । बलिउडको रोमियो र जुलियट भनेर चिनिने यो फिल्मले युरोप र भारतमा भएको राज र सिम्रनको प्रेमकथालाई दर्शाउँछ । जुन किङ्स क्रस स्टेसनबाट सुरु हुन्छ ।

यशराज फिल्मस्ले सन् १९९५ मा यो फिल्म निर्माण गरेको थियो । ‘भारतीय फिल्मलाई अन्तर्राष्ट्रिय अपिल गर्नका लागि यो मूर्तिले महत्वपूर्ण भूमिका खोल्न सक्छ । यसले अन्तर्राष्ट्रिय समुदायमा सम्बन्ध विस्तार गर्न पुलको काम गर्नेछ’, फिल्मस्का सिइओ अक्षेय विधानीले भनेका छन् ।

लेस्टर स्क्वायरको स्क्वायर ट्रेलमा रहेका दृश्यहरु हार्ट अफ लण्डन बिजनेस एलायन्सद्वारा सञ्चालित छ । जसलाई वेस्टमिन्स्टर सिटी काउन्सिलले समर्थन गरेको छ ।