काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेराः घर नं २’को टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछाने लगायत मुख्य कलाकारले स्पेश पाएका छन् ।
टिजरमा आम नेपाली निम्न वर्गीय परिवारले भोग्ने समस्यालाई समेटिएको छ । आफ्नो दुःख अरूलाई सुनाएर मन हलुंगो बनाएको दृश्य टिजरमा छ ।
काठमाडौंमा गाउँबाट आएर संघर्ष गर्ने आम नेपालीको संघर्षलाई टिजरले प्रतिनिधित्व गरेको छ । पशुपतिको किनारमा रहेका दुई दुखी पात्रको कथा साटेको देखाएको टिजरले सामनजिक कथावस्तु फिल्मले उठाउने प्रष्ट पारेको छ ।
पारिवारिक प्रेम, वियोग र त्यसले दिने मानसिक यातना टिजरमा समेटिएको छ ।.पृथ्वी एक डेराको रुपमा रहेको र हरेक मान्छेले भाडा तिरिरहेकाले तेरो र मेरो भन्नुको कुनै अर्थ नरहेको सन्देश टिजरमा उल्लेख छ ।
के घर के डेराः घर नं २ जेठ २ मा रिलिज हुँदैछ । फिल्ममा खगेन्द्रसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ ।
फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । फिल्मको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका छन् । यही फिल्ममार्फत बुद्धिसागरले फिल्म लेखनमा डेब्यू गरेका छन् ।
कृष्णबहादुर थापाको फिल्ममा छायांकन रहेको छ । ‘के घर के डेराः घर नं २’को निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।