काठमाडौं । सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’ प्रति फिल्मकर्मी र दर्शकको चासो निकै बढेको छ । दर्शकको अपेक्षा पुरा गर्नेमा फिल्मका कार्यकारी निर्माता दिनेश खड्का र निर्देशक सरोज पौडेल ढुक्क छन् ।
कार्यकारी निर्माता खड्काले फिल्मको कथा र छायांकनमा भइरहेको मेहनतले दर्शक निराश नहुनेमा आफू ढुक्क रहेको दाबी गर्छन् । “अहिले जुन हिसाबले काम भइरहेको छ यसबाट हामीले सोचेभन्दा राम्रो भइरहेको छ । अहिलेसम्मको काम हेर्दा आउटपुट पनि राम्रो आउनेमा हामी टुक्क छौँ,” खड्काले भने, “फिल्मको अनलाइन सम्पादनको काम सेट मै भइरहेको छ, जसमा सबै कलाकार र प्रविधिकहरुको मेहेनत देख्दा दर्शकलाई केही खास हुनेछ भन्ने हामी सेटबाटै भन्न सक्छौँ ।”
खड्काले स्याङ्जाको स्थानीय तह, वडा र पालिकाबाट पाएको सहयोगले पनि छायांकन सहज र प्रभावकारी भएको बताए । उनका अनुसार स्याङ्जाका विभिन्न स्थानमा पछिल्लो एक महिनादेखि छायांकन भइरहको छ । च्यासलस्थित सेटमा करिब एक हप्ता छायांकन गरेर बाँकी छायांकनका लागि निर्माण टिम स्याङ्जा गएको थियो ।
निर्देशक पौडेलका अनुसार अबको एक सातामा फिल्मको सम्पूर्ण छायांकन सकिनेछ । स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा ‘कोशेढुंगा’को करिब एक महिनादेखि छायाकंन भइरहेको छ ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायतको अभिनय रहनेछ ।
फिल्मको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन गरिरहेको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ ।
फिल्मको गीतमा रिदम कँडेल र आशिष अविरलको संगीत रहने छ । कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।फिल्म २०८२ मा रिलिज हुनेछ ।