कार्साङपछि मिरमिरे बनाउँदै याम

काठमाडौं । फिल्म ‘कार्साङ’ फेम्ड निर्देशक याम शेर्पाले नयाँ फिल्म ‘मिरमिरे’ निर्माणको घोषणा गरेका छन् । शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष फिल्म रिलिजको घोषणा समेत गरेका छन् ।

यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्मले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका छन् ।

सूर्यको पहिलो किरणसँगै केही योजना बनाएर केही नयाँ कामको सुरुवातको तयारी गरिरहेको थिम पोस्टरले संकेत गरेको छ । पोस्टरले बिहानीसँगै नयाँ संकल्प गरेको संकेत गरे पनि पात्रको उद्देश्य के हो र के गर्न खोजिरहेका छन् भन्ने प्रष्ट पारिएको छैन ।

फिल्मको कथा लेखन र निर्देशन यामले नै गर्नेछन् । निमु शेर्पा र चोङ्वा लामा शेर्पाको लगानी रहने फिल्म आरआर फिल्म्सले वितरण गर्नेछ । नयाँ वर्ष २०८२ मा रिलिज हुने भनिए पनि प्रदर्शन मिति भने तय भएको छैन ।