सुस्मिताले ल्याइन कुलमान फालेर

काठमाडौं। गायिका सुस्मिता स्याङतानको स्वरमा कुलमानलाई फालेर बोलको गीत सार्वजनिक गरिएको छ । नेपाललाई लोडसेडिङको अध्यारोबाट उज्यालोतर्फ डोहोर्‍याउने व्यक्तित्व कुलमान घिसिङको सम्मानमा तयार गरिएको नयाँ गीत सुस्मिता स्याङतान युटुब च्यानलमार्फत बजारमा ल्याएको हो ।

गीतले कुलमान घिसिङलाई सच्चा राष्ट्रसेवकका रूपमा प्रस्तुत गर्दै उनको इमानदार नेतृत्वप्रतिको सम्मान व्यक्त गरेको छ । गीतमा राजनीतिक प्रभावका कारण इमानदार व्यक्तिहरूको असमय विदाइप्रति गम्भीर प्रश्न उठाइएको छ ।

गीतमा विवेक लोप्चनको शब्द र संगीत छ । गायनमा सुस्मितालाई अर्जुन न्यौपानेले साथ दिएका छन् । कुनसाङ दोर्जे लोप्चनको संगीत संयोजन रहेको गीतमा गोविन्द सोनीको ध्वनि सम्पादन—मिक्सिङ र मास्टरिङ तथा सबिर कार्कीको रेकर्डिङ छ ।

भिडियोमा विशाल सापकोटाको निर्देशन तथा छायांकन र त्रिलोक राणाको सम्पादन तथा रंग संयोजन छ ।