काठमाडौं । आगामी जेठ ९ गतेबाट रिलिज हुने निर्देशक दिवाकर भट्टराईको फिल्म ‘नरसिंहा अवतार’बाट सुगठिला शरीरका कलाकार रमेशचन्द सोडारी दर्शकमाझ आउँदैछन् । उनी फिल्मबाट निकै आशावादी र उत्साहित दुवै छन् ।
सोडारीका अनुसार निर्देशक भट्टराई फिल्मका लागि गठिलो शरिर र एक्सन गर्नसक्ने रफ एण्ड टफ लुक्सवाला अभिनेताको खोजीमा थिए। निर्देशक भट्टराईका लागि यस्तै दुईवटा अनुहार चाहिएको बेला एउटा अनुहार अभिनेता राज कटुवालमा भेटे भने अर्को अनुहार रमेशचन्दमा ।
‘निर्देशक दिवाकर भट्टराई सर ‘नरसिंहा अवतार’को लागि एकजना अलि एक्सनमा निपूर्ण कलाकारको खोजीमा हुनुहुँदोरहेछ । कोरियोग्राफर माइकल चन्दले मेरो फोटोहरु देखाउनुभएछ । फोटो हेरेपछि मलाई मिटिङका लागि बोलाउनुभयो र स्क्रिप्ट सुनाउनुभयो’, रमेशले आफ्नो पहिलो बिगबजेट फिल्मसँग जोडिनुको प्रसंग सुनाउँदै भने ।
जिम गरेर बनाएको आकर्षक शरिरको साथमा मिक्स मार्सल आर्टको लामो समयदेखिको अभ्यास यो फिल्मका लागि क्वालीफाइ हुन रमेशका लागि पर्याप्त बन्यो।
उनी मिक्स मार्सल आर्टको साथमा तेक्वान्दो र सितेरियो कराँतेका ब्यालकबेल्टसमेत हुन् भने जिम्न्यास्टिकमा पनि कुशल छन् ।
अहिले पनि उनी हरेक विहान ४ बजे जिम पुग्छन् भने ८ बजेदेखि ११ बजेसम्म मिक्स मार्सल आर्टको अभ्यास गर्छन् । यो उनको दैनिकीजस्तै बनिसकेको छ ।
‘नरसिंहा अवतार’मा उनी सकारात्मक भूमिकामा प्रस्तुत हुनेछन् । यो फिल्मबाट निक्कै आशावादी रहेको उनी बताउँछन् ।
‘राम्रो मेहेनत गरेको छु त्यसैले मैले मेरो कामले उचित नतिजा पाउने आशामा छु । दर्शकहरुले मेरो पात्र मनपराउनुहुनेछ, यो मान्छेले राम्रो गरेको छ भन्ने प्रतिक्रिया सुन्न पाउने आशा छ’, उनले भने ।
‘नरसिंहा अवतार’लाई उनी मनोरञ्जनको प्याकेजका रुपमा व्याख्या गर्छन् । ‘यो एक्सन, लभस्टोरी भएको एउटा प्याकेज फिल्म हो । प्याकेजका सबै कुराले यो फिल्म भरिपूर्ण छ।’
फिल्म मेहन्दोबाट नेपाली फिल्ममा पाइला चालेका उनले यो फिल्मपछि ‘मन त परदेशी’, विराज भट्टको ‘साङ्लो’ तथा ‘वानर सेना’ नामका ३ फिल्म गरे । यी सबै फिल्म उनका लागि सिकाइका पाठशाला भए र अब ‘नरसिंहा अवतार’ भने उनका लागि बोर्ड परिक्षा भएको उनको बुझाइ छ ।
‘यो फिल्मबाट म आशावादी छु। विग बजेट, विग व्यानर, विग क्यानभासको फिल्म पाएको छु। सिने बजारमा पनि आशा गरिएको फिल्म हो यो। कथा प्रस्तुति दर्शकको स्वादलाई ध्यानमा राख्दै बनाइएको छ। अघिल्ला फिल्महरु मेरा सिकाइका कक्षा थिए भने ‘नरसिंहा अवतार’लाई मैले बोर्ड परिक्षा ठानेको छु र मैले यसबाट डिस्टिङ्सन ल्याउने गेस गरेको छु। आगे दर्शकको मर्जी’, फिल्मप्रतिको विश्वास देखाउँदै रमेशले भने ।