काठमाडौं । दीपेन्द्र के खनालले निर्देशन गरेको फिल्म ‘के घर के डेराः घर नं २’ को पहिलो गीत ‘आँखा’ सार्वजनिक भएको छ । आगामी जेठ २ गते रिलिज हुने फिल्मको गीत निर्माण पक्षले मंगलबार सार्वजनिक गरेको हो ।
रिकेश गुरुङको स्वर रहेको गीतमा राम अविरल विष्टको शब्द, एसडी योगीको संगीत रहेको छ । प्रेम जोडीको कथा बोल्ने लिरिकल गीतको भिडियोमा फिल्ममा मुख्य कलाकारमध्ये खगेन्द्र लामिछाने र उपासना सिंह ठकुरी छन् ।
गीतको भिडियोमा प्रेमी र प्रेमिकाको आँखामा एकअर्काप्रति देखिएको प्रेम देख्न सकिन्छ । जसमा फिल्मका केही फुटेज समावेश छन् ।
यो फिल्मको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका हुन् । फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।
फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको फिल्ममा छायांकन रहेको छ ।
फिल्मका निर्माता नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।