मुम्बई(एजेन्सी) । बलिउड अभिनेता आमिर खान भारतको पौराणिक ग्रन्थ महाभारतमा फिल्म बनाउन लामो समयदेखि योजना बनाइरहे पनि उनी हालसम्म पनि निश्कर्षमा पुग्न सकेका थिएनन् । तर अब भने उनले आफ्नो ड्रिम प्रोजेक्ट पुरा गर्ने बाटो पाएका छन् ।
हालैमात्र उनले यसै वर्ष ‘महाभारत’को काम सुरु गर्ने जानकारी दिएका छन् । उनले फिल्मलाई कैयौं भागमा निर्माण गर्ने र त्यसका लागि विभिन्न निर्देशकसँग काम गर्ने बताएका छन् । उनले आफ्नो प्रोडक्सन व्यानरबाट फिल्म बनाउने खुलाएका छन् ।
‘मलाई जहिल्यै पनि कथामाथि भरोसा छ र म कथालाई निकै प्रेम गर्छु । मेरो अर्को इच्छा के छ भने यसै वर्ष म महाभारतमाथि काम गर्न चाहन्छु । यो मेरो अहिलेसम्मको ठूलो सपना हो । आशा छ कि म यसै वर्ष यो काम गर्न पाउनेछु । तर यसका लागि समय लाग्नेछ, किनकी स्क्रिप्ट लेख्नमै केही वर्ष लाग्नेछ’, उनले भनेका छन् ।
आमिरले फिल्ममा आफू निर्माताको रुपमा फिल्ममा रहे पनि कलाकारको रुपमा भने के हुने भन्ने निश्चित नभएको बताएका छन् । ‘निर्माताको रुपमा त म निश्चित रुपमा हुन्छु, तर कलाकारका रुपमा भने हेर्नुपर्छ । म हरेक भूमिकाका लागि उत्कृष्ट कलाकारको खोजीमा छु’, उनी भन्छन् ।
आमिरले ‘महाभारत’लाई ‘लर्ड अफ द रिङ्स’ फ्रेञ्चाइजीको जस्तै विभिन्न भागमा बनाउने खुलाए । उनले फिल्मको लेखन प्रक्रिया निकै लामो हुनसक्ने बताए । ‘मलाई लाग्दैन कि महाभारत जस्तो कथाको एउटै फिल्म बनाउन सकिन्छ । यसबाट कैयौं फिल्म बन्छ ।’ उनले भनेका छन् ।