काठमाडौँ । केही समययता चलचित्र भवन पुगेर दर्शकको प्रतिक्रिया लिने क्रम बढिरहेको छ । फिल्म प्रदर्शन भइरहेको समयमा निर्माता र निर्देशक नै कलाकारसहित मिडियाकर्मी लिएर चलचित्र भवन पुग्ने गरेका छन् । दर्शकले दिएको प्रतिक्रियाले फिल्मको व्यापार बढ्ने अपेक्षासहित पछिल्लो समय यसले निरन्तरता पाएको छ ।
तर, केही दिन अगाडि एक दर्शकले यस्तो शैलीप्रति आपत्ति जनाए । उनले चलचित्र भवनभित्र फिल्म हेरिरहँदा क्यामेरा नल्याउन सुझाव दिँदै आक्रोश व्यक्त गरे ।
त्यसपछि चलचित्र भवनमा दर्शक प्रतिक्रिया लिन जाने कि नजाने भन्ने विषयमा बहस चल्न थालेको छ । यस्तो शैली प्रदर्शक अर्थात् चलचित्र भवन सञ्चालकलाई पनि मन परेको छैन । तर यसलाई निर्माताले ‘पब्लिसिटीको पार्ट’ भनेपछि प्रदर्शकले केही गर्न सकेका छैनन् ।
निर्देशक निश्चल बस्नेतले दर्शकलाई भेट्न कलाकार जानु गलत नरहेता पनि गोपनीयताका बारेमा सचेत हुनु जरूरी रहेको बताए । उनले अहिलेको शैलीमा परिमार्जन गरेर दर्शक प्रतिक्रिया लिन सकिने बताए । उनले भने, ‘हाम्रो फिल्म हेर्न आएका दर्शकलाई भेटेर हाम्राबारेमा गरिएका समीक्षा धेरै ठाउँमा पुगोस् भनेर चलचित्र भवन पुग्ने गरेका छौँ । यदि हाम्रो त्यही कुराले दर्शकलाई असर गरेको छ भने हामी सचेत हुनुपर्छ, किनकि दर्शक दुःखी बनाएर फिल्मकर्मी खुसी हुन सक्दैनौँ ।’
उनले आफ्नो पहिलो फिल्म ‘लूट’ को समयमा आफूसहित अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राई काठमाडौँका विभिन्न चलचित्र भवन डुलेको स्मरण गरे । ‘हामी उक्त समयमा कलाकार र निर्देशकमात्र दर्शक प्रतिक्रिया लिन पुगेका थियौँ । अहिले हामीसँग मिडिया र क्यामेरा पनि हुन्छ, सायद यसकारण दर्शकले प्रश्न गर्नुभएको हुनसक्छ । हामी यसमा सच्चिनु पर्छ’, निर्देशक बस्नेतले भने ।
अभिनेत्री स्वस्तिमा खड्काले आफूले यसबारेमा निर्माता तथा निर्देशकसँग छलफल गर्ने गरेको बताइन् । उनले भनिन्, ‘हामी फिल्म हेरिरहनुभएका दर्शकमाझ यत्तिकै पुग्दा फिल्ममा असर गर्छ । हामी पर्दाभित्र एउटा भूमिकामा हुन्छौँ भने बाहिर भिन्न । त्यसकारण फिल्म हेरेर निस्किने इच्छुक दर्शकले भेट्न मिल्ने वा प्रतिक्रिया दिन मिल्नेगरी हामी एउटा छुट्टै स्थान बनाएर बस्नुपर्छ जस्तो लाग्छ ।’
उनले दर्शकले पनि कलाकार भेटेर खुसी व्यक्त गर्ने र कलाकारलाई आफ्नो कामको प्रतिक्रिया सिधै प्राप्त हुने भएकाले यो गलत नै नभएको बताइन् । प्रदर्शक तथा वितरकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले यस विषयमा प्रदर्शकबीच सल्लाह भइरहेको बताए ।
‘दर्शकको गुनासो हामीले पनि सुनिरहेका छौँ । निर्माण पक्षले यसलाई प्रचारप्रसार भनेपछि हामीले पनि सहजता दिएका हौँ । दर्शक पनि कलाकार भेट्दा खुसी नै भएको पाएका छौँ । अब यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्दैछौँ”, उनले भने ।