दीपेन्द्रको तिमी नै छौ यो मनमा

काठमाडौं । दीपेन्द्र अधिकारीको शब्द रहेको गीत ‘तिमी नै छौ यो मनमा’ सार्वजनिक भएको छ । अञ्जु पन्त र दुर्गा पराजुलीको स्वर, दुर्गाकै सङ्गीत, राजु कार्कीको म्युजिक एरेन्ज र किशोर थापाको मिक्सिङ एवम् माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

वीरेन्द्र भाट ‘विपिन’को निर्देशन एवम् सम्पादन रहेको गीतको भिडियोमा रमेश चन्द सोडारी र मिशेल घिमिरेको अभिनय छ । भिडियोमा उच्च पहाडी भेगका चौंरी गोठाला युवक र युवती बीचको प्रेमकथा प्रस्तुत गरिएको छ ।

भिडियो रसुवा जिल्ला, आमाछोदिङ्मो गाउँपालिकाको चौंरी चरन क्षेत्र, गत्लाङ र पार्वतीकुण्ड वरिपरिका रमणीय स्थानहरूमा दुई दिन लगाएर छायांकन गरिएको हो । महेश महराको छायांकन रहेको भिडियो वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो ।

भिडियो सार्वजनिक भएपछि आफ्नो भावना अनुरुप शव्दले नयाँ जीवन पाएको प्रतिक्रिया गीतकार दीपेन्द्र अधिकारीले दिए । यसअघि ‘मनमोहक पोखरा’, ‘चुलबुल चुलबुल (मामा भाञ्जीको गीत)’, ‘नेपालकी छोरी’, ‘जनताको मर्म’, ‘जीवनको रेल’, ‘जिन्दगी हो खेल जस्तै’, ‘फर्किन्छु यसपाली (दसैं–तिहार)’, ‘सपना सजाई’ लगायतका गीत दीपेन्द्रले ल्याइसकेका छन् ।