भदौ १७ मा दीपक लिम्बु स्वर्णिम साँझ

काठमाडौं । प्रथम ‘नेपाली तारा’ तथा गायक दीपक लिम्बु आगामी भदौ १७ गते सांगीतिक करियरकै पहिलो स्वर्णिम साँझ ‘दीपक लिम्बु स्वर्णिम साँझ’मा गुञ्जिने भएका छन् । ओएस म्यूजिक प्रालिले काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्न लागेको यो साँझ दीपककै जन्मदिनको दिन हुँदैछ ।

ओएस म्युजिक प्रालिका आशिष भट्टराईले दीपक नेपाली तारा भएको २० वर्षको अवसर पारेर कार्यक्रम गर्न लागिएको बताए । ‘हामी झण्डै २५ अर्केष्ट्राको प्रत्यक्ष वाद्यवादनमार्फत दीपकजीलाई दर्शकमाझ प्रस्तुत गर्दैछौं । कार्यक्रमबाट उठेको केही रकम ताप्लेजुङका विद्यार्थीलाई शैक्षिक सामाग्री किन्न खर्च गर्नेछौं’, उनले भने ।

गायक दीपकले गायकगायिकाको स्वर्णिम साँझ अथवा सन्ध्या कम भइरहेको अवस्थामा आफ्नो स्वर्णिम साँझ हुनु खुशीको कुरा भएको बताए । ‘मैले आफ्नो करियरमा अहिलेसम्म नगरेको काम गर्दैछौं । म उत्साहित छु’, उनले भने ।

आयोजकका अनुसार कार्यक्रमका लागि एक हजार र पाँच सय रुपैंयाँका टिकट दर्शकका लागि छ । दीपकले कार्यक्रममा पुराना तथा नयाँ झण्डै दुई दर्जन गीत सुनाउने बताए ।