काठमाडौं । यही वैशाख २६ गते रिलिज हुने फिल्म फिल्म ‘जार’मा मुख्य कलाकार सौगात मल्ल बाघसँग आमानेसामने हुन्छन् । स्क्रिप्टमा उनले बाघको सामना गर्ने दृश्य छ । इन्द्रबहादुर राईले लेखेको कथामा यसका मुख्य पात्रलाई बाघले लतारेर लगेको दृश्य छ ।
फिल्मका निर्देशक फुर्वा छिरिङ लामाले फिल्मको कथा अनुसार नै बाघ राख्नु परेको बताए । ‘बाघलाई जसरी पनि राख्नै पर्ने थियो । नराखे ‘जार’ कथा पढ्ने व्यक्तिले फिल्म हेरे अधुरो महसुस गर्ने निश्चित थियो । यो दृश्यका लागि भीएफएक्सको विकल्प थिएन । त्यसकारण हामीले ३७ जना फ्रिलान्सर भीएफएक्स आर्टिस्टको सहयोगले बाघको दृश्य देखायौं’, उनले भने ।
उनका अनुसार यो दृश्यका लागि झण्डै दुई करोड खर्च गरिएको थियो । ‘यो दृश्य बनाउन कुनै पनि स्टुडियोलाई दिने हो भने यसका लागि कम्तीमा ८ देखि १० करोड रुपैयाँ खर्च लाग्छ । तर हामीले दुई करोडमा नै काम पुरा गर्यौ’, उनले भने ।
आठ मिनेटको उक्त दृश्यका लागि हलिउड मुभी ‘गेम अफ थ्रोन्स’, ‘मिसन इम्पोसिबल’लगायत फिल्मका काम गर्ने भीएफएक्स आर्टिस्टले काम गरेको उनले बताए ।
‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको फिल्म हो । इन्द्रबहादुरले सन् १८ सयको दशकको विषयलाई आफ्नो कथाको विषय बनाएका थिए ।
फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।