काठमाडौ । आगामी वैशाख २१ बाट प्रदर्शन हुन लागेको फिल्म ‘भोर’ले राजनीतिज्ञ तथा मानवअधिकारकर्मीको उपस्थितिमा मंगलबार राजधानीमा विशेष शो गरेको छ । फिल्म हेर्ने अधिकांले फिल्मको कथाबस्तु मनपराए । फिल्म हेर्न पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री राजेन्द्र महतो, राजकिशोर यादव, लिलामणि पोखरेल, एमाले नेतृ विन्दा पाण्डे, पूर्व मन्त्री हिसिला यमीसँगै सय बढी मानवअधिकारकर्मी, विद्यार्थी नेता फिल्म हेर्न उपस्थित थिए ।
तराईमा बढ्दो दाइजो प्रथाविरुद्ध आवाज उठाएको फिल्म ‘भोर’ हेरेपछि पूर्व प्रधानमन्त्री नेपालले फिल्मले सामाजिक विकृतिलाई उदांगो पारेको बताए । ‘फिल्मले समाजमा कलंकको रुपमा रहेको दाइजो प्रथा तथा महिलाप्रतिको विभेदलाई फिल्मले चित्रण गरेको पाएँ । यो फिल्मलाई निर्माण पक्षले गाउँतहमा पनि पु¥याउन जरुरी छ ।’ उनले भने । रौतहट पुख्र्यौली घर रहेका नेता नेपालले दाइजो गतिविधिलाई निर्मुल पार्न घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । मधेशी नेता महतोले केहि हदसम्म दाइजो प्रथा हटेपनि हालसम्म पनि विद्यमान दाइजो प्रथाविरुद्ध जनचेतना जगाउन यो फिल्मले धेरै मद्धत गर्ने दाबी गरे । महिला नेतृ हिसिलाले राज्यकै असक्षमताका कारण महिला समाजबाट अपहेलित हुनुपरेको र यो प्रकारको कथालाई पर्दामा ल्याएकोमा निर्माण टिमलाई बधाई दिइन् ।
फिल्म हेरेपछि नेताहरुले प्रमुख कलाकार डली सरकार, रामनारायण ठाकुर, पूजा कर्णको अभिनयको तारिफ गरे । फिल्मका निर्देशक यादव भट्टराईले दाइजोलाई महिला हिंसा भन्दा पनि मानव हिंसाको रुपमा लिनुपर्ने फिल्म टिमको अभियानलाई पनि धेरैले स्वागत गरेको जनाए । राज तिमिल्सिना र राम गोपाल थापाले निर्माण गरेको फिल्ममा देवेन्द्रप्रसाद सुवेदी कार्यकारी निर्माता छन् । उज्जल ढकालले सम्पादन गरेको फिल्ममा रामनारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झा लगायतका फिल्ममा मुख्य अभिनयमा छन् । फिल्मको सम्पूर्ण छायांकन जनकपुरमा गरिएको हो ।