धुर्मुस सुन्तलीको मैदानलाई १ लाख

काठमाडौं । कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को संस्था धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणार्थ डिभा बुटिकले १ लाख ११ हजार १ सय ११ रुपैंयाँ सहयोग गरेको छ ।

ललितपुरको मानभवनमा आइतबारबाट सञ्चालनमा आएको डिभा बुटिक )जेडी कलेक्सन्)को शुभारम्भ कार्यक्रममा फाउन्डेसनलाई उक्त रकम सहयोग प्राप्त भएको हो । बुटिककी सञ्चालिका तथा फेसन डिजाइनर जेनी श्रेष्ठले सिताराम र कुञ्जनालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रममा सितारामले व्यावसायिकसँगै सामाजिक काममा सहयोग गर्नु खुसीको कुरा भएको बताए । उनले अन्तर्राष्ट्रिय गुणस्तरका डिजाइन र पहिरन एकै थलोमा सुपथ मूल्यमा पाउँदा फेसन पारखीका लागि डिभा फेसन हबको रुपमा स्थापित होस् भन्ने चाहेको बताए । त्यस्तै कुञ्जनाले व्यवसायसँगै सामाजिक काममा पनि सहयोग गर्ने डिभाले आउँदा दिनमा पनि यस्तो सामाजिक कार्य गर्दै जाने विश्वास व्यक्त गरिन्।

एक दशकदेखि फेसन डिजाईनमा सक्रिय जेनी र पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले डिभा बुटिक सुरु गरेका हुन् । जेनीको यो दोस्रो बुटिक हो । डिभाबाट जेनीले बुटिकका युनिक पिस तथा अन्तर्राष्ट्रिय कलेक्सन फेसन र सदिक्षाले कस्मेटिक सामग्री ग्राहकलाई उपलब्ध गराउनेछन् ।जेनीले आफ्नो बुटिकबाट युवती तथा महिलाहरूले फेसनदेखि सौन्दर्य सामग्रीको खरिद गर्न सक्ने बताइन् । सदिक्षाले थाईल्यान्डमा एमबिए अध्ययनका क्रममा आफूले सिभाना कलर्सका मेकअप सामग्री प्रयोग गरेको र यसले राम्रो नतिजा दिएपछि नेपालमा व्यावसायिक विक्री वितरण र सेवा सुरु गरेको बताइन् ।